झापा गोल्डकप : आर्मी सेमिफाइनलमा प्रवेश

न्युजलय २६ फाल्गुण २०७८, बिहिबार ०२:३७ मा प्रकाशित

झापा । साविक विजेता त्रिभुवन आर्मी क्लबले बुधबार दार्जिलिङको एमएफसी फुटबल क्लबलाई ३–० ले हराउँदै पाँचौँ झापा गोल्डकप फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ । विर्तामोर्डस्थित डोलालाल राजवंशी रंगशालामा सम्पन्न खेलमा आर्मीलाई उपाधिनजिक पुर्‍याउने क्रममा सन्तोष तामाङ, कप्तान जर्ज प्रिन्स कार्की र विकास तामाङले समान एक गोल गरेका थिए । 


आर्मीले तीनपटक झापा गोल्डकपको उपाधि चुमिसकेको छ । काठमाडौंमा सम्पन्न सहिद स्मारक ए डिभिजन लिगको दोस्रो स्थानमा रहेको आर्मीले अब फाइनल प्रवेशका लागि चौथो स्थानमा रहेको सातदोबाटोसँग प्रतिस्पर्धा गर्नेछ । १०औँ मिनेटमा सन्तोषले दार्जिलिङका गोलरक्षक कुन्जाङ भुटिया आफ्नो क्षेत्रभन्दा अगाडि बढेको मौकाको फाइदा उठाउँदै लामो दूरीबाटै उत्कृष्ट गोल गर्दै आर्मीलाई १–० को अग्रता दिलाए । सुरुमै गोल बेहोरेपछि दार्जिलिङको एमएफसी सम्हालिन सकेन । दबाबमा रहेको एमएफसीका खेलाडीबीच तामलमेल खेलको अन्तिम समयसम्म मिलेन । आर्मीले ३५औँ मिनेटमा कप्तान जर्ज प्रिन्सको गोलसँगै २–० को अग्रता बनायो । प्रिन्सले पोस्टभन्दा २३ यार्ड टाडाबाट प्रहार गरेको बल सीधै गोलमा परिणत भएको थियो । 


दोस्रो हाफमा दार्जिलिङको एमएफसीले खासै राम्रो प्रदर्शन गर्न सकेन । आर्मीले दोस्रो हाफमा एक गोल मात्र थप्यो । ६८औँ मिनेटमा आर्मीका विकासले ३–० का लागि गोल गरे । विकासले जर्ज प्रिन्सको कर्नरमा गोल गरेका हुन् । यसअघि १९औँ मिनेटमा एमएफसीका रोवर्ट खोन्जोले मैदानको मध्यभागबाट एकल प्रयासमा गोल प्रयास गरेका थिए । तर, उनी गोल गर्न असफल भए । 


उनले डिबक्सबाट प्रहार गरेको बल पोस्ट नजिकैबाट बाहिरियो । ५२औँ मिनेटमा एमएफसीकै आदर्श तामाङले डिबक्सबाट गरेको हेडिङ क्रसबारभन्दा केही माथि गयो । ७८औँ मिनेटमा कप्तान प्रतीक लामाको पासमा रोवर्ट खोन्जोले गरेको प्रहार आर्मीका गोलरक्षक विकेश कुथुले पञ्च गरेर बचाए ।