खानेपानी बोर्डको विषयमा मेयर साम्पाङविरुद्धको रिट खारेज, बोर्डको अध्यक्ष बनेर काम गर्न खुला

न्युजलय २० असार २०८०, बुधबार ०५:२६ मा प्रकाशित

विराटनगर । उच्च अदालत विराटनगरले धरानका मेयर हर्क साम्पाङलाई धरान खानेपानी व्यवस्थापन बोर्ड अध्यक्षको मान्यता नदिन दायर रिटको विपक्षमा फैसला गरेको छ । योसँगै मेयर साम्पाङले बोर्डको अध्यक्षकै रुपमा काम गर्न पाउने भएका छन् । 


हर्क साम्पाङले खानेपानी बोर्डको स्वघोषित अध्यक्ष भएर आफूखुसी काम गरेको र बैठक पनि नबोलाएको भन्दै उनी विरुद्ध खानेपानी बोर्डका सदस्य विजय श्रेष्ठलगायतले उच्च अदालत विराटनगरमा रिट दायर गरेका थिए । बुधबार न्यायाधीश कृष्णकमल अधिकारी र मुरारीबाबु श्रेष्ठको इजलासले ‘निवेदकको माग गरेको उल्लेखित विषयमा अन्तरिम आदेश जारी नहुँदा निज(निवेदक)लाई अपुरणीय क्षति हुने अवस्था नदेखिएको र विपक्षीको लिखित जवाफ परी अन्तरिम सुनुवाईको क्रममा सो विषयमा सम्वोधन हुने प्रकृतिको देखिएबाट निवेदन माग बमोजिम अन्तरिम आदेश जारी गर्नुपर्ने अवस्था नहुँदा यस अदालतबाट जेठ २६ मा जारी भएको अल्पकालीन अन्तरिम आदेशलाई निरन्तरता दिइरहनु परेन,’ भन्ने फैसला गरिदिएको छ ।


साम्पाङले आफूले बोर्डको अध्यक्ष नगरपालिकाको प्रमुख हुने भन्ने निर्णयअनुसार काम गरेको बताउँदै आएका थिए ।