काठमाडौं । श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङ राईले सरकार नागरिकलाई सुरक्षा, न्याय, सेवा सुविधा र अवसर दिन असफल भएको आरोप लगाएका छन् ।
मंगलबार प्रतिनिधिसभाको बैठकमा बोल्दै साम्पाङले देशमा नागरिक तथा सांसदसमेत सुरक्षित नरहेको बताएका हुन् । उनले प्रधानमन्त्रीले नैतिक तथा पदीय जिम्मेवारी बहन गर्दै संसदमा उपस्थित हुनुपर्ने माग गरे ।
साम्पाङले प्रधानमन्त्रीले आफूहरूले साढे दुई महिनादेखि संसद्मा उपस्थित हुन माग गरिरहेपनि आउन नमानेको भन्दै बालहठ नगर्न आग्रह गरे ।
न्यायको अवस्था पनि कमजोर रहेको भन्दै उनले आन्दोलनरत नागरिकका समस्या बुझ्न मन्त्री तथा सम्बन्धित निकायका अधिकारीहरू सडकमा जानुपर्ने बताए । उनले भने,‘मन्त्रालयमा एसीको हावा खाँदै बसेर देश भेट्न सकिँदैन । देश भेट्नका लागि खोलाखोल्सी, खेत, कारखानामा जानुपर्यो। आन्दोलन गरिरहेका नागरिकहरूको सडकमा गएर उनीहरुको आवाज बुझ्नुपर्यो ।’