काठमाडौं । भारतीय चर्चित र्यापर हनी सिंहमाथि अपहरण र मारपिटको आरोप लागेको छ।
भारतीय सञ्चारमाध्यम हिन्दुस्तान टाइम्सका अनुसार एक कार्यक्रम व्यवस्थापन कम्पनीले उनीविरूद्ध अपहरण र मारपिटको आरोप लगाएको हो।
मुम्बई पुलिसका अनुसार विवेक रमनले उजुरी दर्ता गरेका हुन्। हनी सिंह र उनका साथीले आफूलाई अपहरण गरेर मारपिट गरेको उनको आरोप छ।
विवेकले १९ अप्रिलमा उजुरी दर्ता गराएका हुन्। उनले १५ अप्रिलमा मुम्बईको बान्द्रा कुर्ला कम्प्लेक्समा एक कार्यक्रम आयोजना गरेका थिए। यस कार्यक्रममा हनी सिंह सहभागी थिए। पैसा लेनदेनमा विवाद भएपछि हनी र उनका साथीले रमनलाई अपहरण गरेको बताइएको छ।
रमनले हनी सिंह र उनका साथीलाई पक्राउ गर्न माग गरेका छन्। हाल मुम्बई पुलिसले यस मुद्दाको छानबिन भइरहेको बताएको छ।