मोटरसाइकल दुर्घटना हुँदा सशस्त्र प्रहरीका सईको मृत्यु

न्युजलय २ मङ्सिर २०७८, बिहिबार ०९:१७ मा प्रकाशित

इटहरी । आफैँले चलाएको मोटरसाइकल अनियन्त्रित हुँदा सशस्त्र प्रहरी बलका नायव निरीक्षक (सई) सन्तोष बस्नेतको मृत्यु भएको छ ।


कोशी राजमार्ग अन्तर्गत सुनसरीको इटहरी र धरान बीचमा पर्ने सेउती खोलामा दक्षिणतर्फ जाँदै गरेको सरकारी मोटरसाइकल अनियन्त्रित हुँदा सोलुखुम्बुको दूधकोशी गाउँपालिका १ घर भई सशस्त्र प्रहरी बेस क्याम्प डङ्ग्राहा मोरङमा कार्यरत सई बस्नेतको मृत्यु भएको हो ।


बुधबार राति पौने ९ बजे को १ व २४३८ नम्बरको मोटरसाइकल दुर्घटना हुँदा गम्भीर घाइते भएका बस्नेतको उपचारका क्रममा धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान लगिएको थियो ।


अस्पताल पुर्‍याउन साथ डाक्टरले मृत घोषणा गरेको ट्राफिक प्रहरी कार्यालय प्रदेश १ का प्रवक्ता प्रहरी नायव उपरीक्षक सुमन तिम्सिनाले जानकारी दिए ।