पक्राउ पर्नबाट बच्न एक व्यक्तिले बनाए आफ्नै मृत्यु दर्ता, १० वर्षपछि नियन्त्रणमा

न्युजलय ७ मङ्सिर २०७८, मङ्गलबार ०८:३६ मा प्रकाशित

सुनसरी । दश वर्षअघिको घटनामा अदालतबाट दोषी ठहरिएका एक फरार आरोपीले आफ्नो मृत्यु दर्ता प्रमाणपत्र बनाएर घरमा बसेको फेला परेको छ । सुनसरीको साविक चाँदबेला १ (हाल इनरुवा ७-का डाँका मुद्दामा फरार प्रतिवादी अजित मियाँले आफ्नो मृत्यु प्रमाणपत्र बनाएर १० वर्ष घरमै बसोबास गरेको खुलेको हो ।


फरार रहँदै आएका मियाँलाई प्रहरीले सोमबार घर नजिकैबाट दिउँसो पक्राउ गरेको हो । तत्कालीन भादगाउँ सिनवारी ६ (हाल रामधुनी ५) बस्ने जैयस कुमार साहको घरमा १७ भदौ २०६८ राति डाँका डकैतीमा तीन जनाको संलग्नता रहेको खुलेको थियो । अन्य दुई जनालाई प्रहरीले तत्काल पक्राउ गर्न सफल भए पनि मियाँ फरार थिए ।


उनीहरू तीनै जनालाई जिल्ला अदालतले ११ असार २०७५ मा जनही ६ वर्ष कैद र ९९ हजार रुपैयाँ जरिवाना फैसला गरेको थियो । जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रहरी उपरीक्षक सञ्जय सिंह थापाका अनुसार मियाँले आफ्नो मृत्यु दर्ता प्रमाणपत्र समेत बनाएका कारण पक्राउ गर्न ढिलाइ भएको जानकारी दिए ।


उनले २७ पुस २०७४ मा आफ्नो मृत्यु भएको भनी स्थानीय पञ्जिकाधिकारीको कार्यालयबाट मृत्यु दर्ता प्रमाणपत्र बनाएका थिए । प्रहरीले उनलाई पटक पटक पक्राउ गर्न प्रयास गर्दा उनले अजितको मृत्यु भइसकेको भन्दै आफूलाई अजितको भाइ अजिजको रूपमा चिनाउँदै आएका थिए । 


सुनसरी प्रहरीले अजितसँगै एकैदिन ४२ जना फरार आरोपीहरूलाई पक्राउ गरेको जनाएको छ । पक्राउ परेका ४२ जनालाई फैसला कार्यान्वयनको लागि जिल्ला अदालतमा पेस गरिएको छ । अदालतबाट विभिन्न मुद्दामा कैद तथा जरिवाना फैसला भए पनि आरोपीहरू फरार रहँदै आएका थिए ।