देशभर २१० औँ भानु जयन्ती मनाइँदै, घर जीर्ण, हस्तलिखित रामायणमा धमिरा

न्युजलय २९ असार २०८०, शुक्रबार ११:२६ मा प्रकाशित

काठमाडौँ । राष्ट्रिय विभुती आदिकवि भानुभक्त आचार्यको २१० औँ जन्मजयन्ती आज देश तथा विदेशका विभिन्न स्थानमा विविध कार्यक्रमको आयोजना गरी मनाइँदैछ ।


सो अवसरमा उपप्रधान एवं गृहमन्त्रीले नेपाल प्रज्ञा प्रतिष्ठानमा रहेको आदिकवि आचार्यको पूर्णकदको शालिकमा माल्यार्पण गरी उनको स्मरण गरेका छन् । 


देशभर विभिन्न साहित्यिक संघसंस्थाहरुले भानुभक्तको योगदानको चर्चा तथा उनका रचना वाचन गरी उनको जन्मजयन्ती मनाइरहेका छन् । 


भानु जयन्ती, सांस्कृतिक र साहित्यिक महोत्सवका रूपमा नेपालका साथै भारतको सिक्किम, दार्जिलिङका पहाडमा नेपालीभाषी समुदायबीच उत्साहका साथ मनाइन्छ।


भानुभक्तको सबैभन्दा ठूलो योगदान वाल्मिकी रामायणलाई संस्कृतबाट नेपालीमा अनुवाद गरेर ठूलो जनसङ्ख्यामा पुर्‍याउनु रहेको मानिन्छ।


तनहुँ जिल्लाको चुँदी रम्घामा जन्मिएका भानुभक्तको सम्मानमा नगरपालिकाको नाम नै भानु नगरपालिका राखिएको छ । सो नगरपालिकाको वडा नं. ४ स्थित भानुको घर संरक्षणको अभावमा भग्नावशेषमा परिणत भएको भन्दै संस्कृतिविद्हरुले चिन्ता व्यक्त गरेका छन् ।  २०५७ मा भानु चलचित्र निर्माता यादव खरेलले ‘आदिकवि भानुभक्त’ नामक चलचित्र निर्माणका लागि एक लाखको लागतमा उक्त घर पुनर्निर्माण गरेका थिए । त्यसयता मर्मत हुन सकेको छैन । 


यस्तै भानु पुस्तकालयमा राखिएको भानुले लेखेको हस्तलिखित रामायणलाई धमिराले खाएको छ।