मोरङका दुई कृषि फर्ममा बर्डफ्लु पुष्टि

न्युजलय ७ चैत २०८२, शनिवार ११:४७ मा प्रकाशित

मोरङ । मोरङको उर्लाबारी र सुन्दरहरैँचा नगरपालिकाका दुई कृषि फर्ममा घातक ‘एच१एन१’ बर्डफ्लु भाइरसको सङ्क्रमण पुष्टि भएको छ।

भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र मोरङका प्रमुख डा. अजयकुमार साहका अनुसार उर्लाबारी–८ स्थित ‘अठियाबारी कृषि फर्म’ र सुन्दरहरैँचा–४ स्थित ‘हलेसी महादेव कृषि फर्म प्रालि’ मा सङ्क्रमण देखिएको हो।

पशु सेवा विभागको ‘इमर्जेन्सी डिजिज इन्भेस्टिगेसन टिम’ द्वारा गरिएको स्थलगत अध्ययन र नमूना परीक्षणपछि सङ्क्रमणको औपचारिक पुष्टि गरिएको हो।

सङ्क्रमण नियन्त्रणका लागि जिल्ला प्राविधिक समितिको बैठकले प्रभावित क्षेत्रमा रहेका कुखुरा, हाँस तथा अन्य पन्छी र पन्छीजन्य वस्तु नष्ट गर्ने निर्णय गरेको छ।

सङ्क्रमित फर्मलाई केन्द्र मानी चार किल्ला तोकिएको छ भने सो क्षेत्रमा आवतजावत तथा पन्छिजन्य सामग्रीको ओसारपसारमा पूर्ण प्रतिबन्ध लगाइएको छ। साथै, सङ्क्रमित क्षेत्र वरिपरि तीन किलोमिटरलाई प्रभावित क्षेत्र घोषणा गरी निगरानी बढाइएको छ।

बर्डफ्लु पन्छीबाट मानिसमा सर्न सक्ने भएकाले स्थानीयवासीलाई सावधानी अपनाउन र मरेका पन्छी सुरक्षित रूपमा व्यवस्थापन गर्न आग्रह गरिएको छ।