घर सजाउन वालपेपर

न्युजलय २ चैत २०७८, बुधबार ०४:४६ मा प्रकाशित

घरको भित्तामा वालपेपरले रंगाउने चलन नेपालमा बढ्न थालेको छ । विभिन्न रंगीचंगी अनि विभिन्न आकर्षक दृश्यचित्र सहितको वालपेपरले घरको भित्रि कोठा सजाउने चलन बढेको हो । 

वालपेपरले एकातिर भित्तामा रंग लगाउनुपर्ने बाध्यता हटाउँछ भने अर्कोतिर यो आकर्षक पनि देखिन्छ । सर्वसाधारणहरुले घर, पसल तथा कार्यालयको लागि वालपेपर अर्डर गर्ने गरेको इटहरीस्थित प्रज्ञा होम डेकोरका सञ्चालक शान्तीराम पौडेलले बताए । ‘घरको सौन्दर्य र साजसज्जाका लागि भित्तालाई वालपेपरले सजाउन थालिएको छ,’ उनी भन्छन्, ‘यो रंगभन्दा केही महँगो भएपनि आकर्षक हुन्छ ।’

उनका अनुसार वालपेपरसँगै वाल फम, ह्याङ्गिङ ग्लास, आर्टिफिसियल ग्रास, ह्याङगीङ ग्रास, क्यानभास, मुराल्स आदि भित्ता सजाउन प्रयोग गरिन्छन् । १३ वर्ष साउदीमा बसेर आएका पौडेलले तीन महिनाअघिदेखि वालपेपरको कारोबार गरेको र कारोबार सन्तोषजनक रहेको बताए । 

‘वालपेपर १५ वर्ष टिक्ट, १० वर्ष त वारेन्टी नै हुन्छ,’ ग्राहकहरुको रुचीअनुसारका विभिन्न डिजाइन उपलब्ध रहेको बताउँदै उनले भने, ‘हामीले सस्तो छिटो सेवा दिइरहेका छौं, माग बढ्दो छ ।’