खोटाङ जन्तेढुंगा गाउँपालिकाका वडाध्यक्ष श्रेष्ठको निधन

न्युजलय १३ पुस २०७८, मङ्गलबार १०:३९ मा प्रकाशित

खोटाङ । खोटाङको जन्तेढुंगा गाउँपालिका–५ चिसापानीका वडाध्यक्ष रामकुमार श्रेष्ठको निधन भएको छ । वडाध्यक्ष श्रेष्ठको सोमबार राति ६३ वर्षको उमेरमा आफ्नै निवासमा निधन भएको हो ।

वडाध्यक्ष श्रेष्ठ गत माघदेखि मुटुको समस्याबाट पीडित थिए । सिकिस्त अवस्थामा गत २८ माघमा सहिद गंगालाल राष्ट्रिय हृदय केन्द्र बाँसबारी लगिएका श्रेष्ठ मुटुको भल्व फेरेपछि नियमित औषधि सेवन गर्दैआएको बताइएको छ । 

२०७४ सालको स्थानीय तहको निर्वाचनमा कांग्रेसकातर्फबाट वडाध्यक्ष निर्वाचित भएका श्रेष्ठ अस्पताल लगिएपछि गत २८ माघदेखि वडासदस्य धनबहादुर राईले कार्यवाहक वडाध्यक्षको जिम्मेवारी सम्हाल्दै आएका छन् । 

श्रेष्ठका श्रीमती, तीन छोरा छन् ।