उखुको समर्थन मूल्य तोकियो, प्रतिक्विन्टल २० रुपैयाँले बृद्धि

न्युजलय ४ माघ २०७९, बुधबार ०७:४९ मा प्रकाशित

काठमाडौं । सरकारले उखुको समर्थन मुल्य तोकेको छ । बुधबार बसेको मन्त्रिपरिषद् बैठकले समर्थन मूल्य प्रतिक्विन्टल २० रुपैयाँ बृद्धिगरी ५४० रुपैयाँ तोकेको कृषि तथा पशुपंक्षी विकासमन्त्री ज्वालाकुमारी साहले बताइन् । 

यस्तै, ७० रुपैयाँ किसानका लागि सरकारले ढुवानीका लागि अनुदान पनि दिने निर्णय गरेको छ ।

साहका अनुसार  प्रस्तावित समर्थन मूल्य ५३५ थियो । बैठकले पाँच रुपियाँ बढाएर ५४० रुपैयाँ समर्थन मूल्य तोकेको हो । जुन गत बर्षको तुलनामा २० रुपैयाँ बढी हो । 

गत वर्ष सरकारले उखुको मूल्य प्रतिक्विन्टल ५२० रुपैयाँ तोकेको थियो । ढुवानी बापतको अनुदान रकम ७० रुपैयाँ नै कायम गरेको थियो । अहिले भने सरकारले उखुको न्यूनतम मूल्य नै क्विन्टलमा २० रुपियाँले बृद्धि गरेर नयाँ मूल्य तोकेको हो ।

कृषिमन्त्री साहका अनुसार उत्पादन लागतमा २० प्रतिशत नाफा किसानलाई निश्चित गरेर नयाँ मूल्य तोकिइएको हो । ५४० रुपैयाँ क्विन्टलमा उद्योगीले अब किसानसँग उखु किन्नु पर्नेछ ।