विराटनगर । मोरङ र तेह्रथुममा भएको छुट्टाछुट्टै सवारी दुर्घटनामा तीन जनाको मृत्यु भएको छ ।
मोरङको सुन्दरहरैचा नगरपालिका–८, पाथिभरा मन्दिर नजिकै प्रदेश १–०१–००१ च ९६३२ नम्बरको स्कारपियो र प्रदेश १–०२–०४६ प २५२ नम्बरको मोटरसाइकल एक–आपसमा ठक्कर ठोक्किँदा युवकको मृत्यु भएको छ ।
गएराति दुर्घटना हुँदा मोटरसाइकल चालक बेलबारी नगरपालिका–२ बस्ने २२ वर्षीय रूपक घिमिरेको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको कोशी अस्पताल विराटनगरमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जानकारी दिएको छ ।
यस्तै तेह्रथुमको लालीगुराँस नगरपालिका–७ मा को १ ख ५८२९ नम्बरको टिपर अनियन्त्रित भई दुर्घटना हुँदा दुईजनाको मृत्यु भएको छ ।
बुधबार दिउँसो सडकबाट करिब २५० मिटर तल खसेर दुर्घटना हुँदा टिपरमा सवार दुईजनाको मृत्यु भएको हो । मृत्यु हुनेहरूमा सिन्धुपाल्चोक बस्ने २४ वर्षीय साजु श्रेष्ठ र झापाको मेचीनगर नगरपालिका–१५ मेचीनगर बस्ने २३ वर्षीय सुगम चौधरी छन् ।
दुर्घटनामा गम्भीर घाइते भएका उनीहरूको प्राथमिक स्वास्थ्य चौकी वसन्तपुरमा उपचारको क्रममा मृत्यु भएको हो । साथै दुर्घटनामा घाइते भएका टिपरका चालकसहित तीनजनाको धरानमा उपचार भइरहेको जनाइएको छ ।