इटहरी प्रहरीको लागि असेज्वाले बनाइदियो प्रतिक्षालय

न्युजलय ७ पुस २०८२, सोमबार ०८:३३ मा प्रकाशित

इटहरी l असेज्वाले इलाका प्रहरी कार्यालय इटहरीको लागि प्रतिक्षालय बनाइदिएको छ । जेन्जी आन्दोलनपछि रंगशालाको भवनमा सञ्चालित प्रहरी कार्यालयलाई सहयोग हुने गरी मेलमिलाप प्रतिक्षालय बनाएको संस्थाले जनाएको छ । 


प्रहरी नायब उपरिक्षक सुभास हमालले प्रतिक्षालयको उद्घाटन गरेका थिए । कार्यक्रममा इटहरी वडा नं. ९ का वडाध्यक्ष जीतेन्द्र थापालगायत विभिन्न क्षेत्रका व्यक्तित्वहरुको उपस्थिती रहेको थियो ।


सधैं देश र जनताको शान्ति र सुरक्षाको निम्ति खटिने नेपाल प्रहरीलाई सहयोग गर्न पाउँदा खुसी लागेको संस्थाले जनाएको छ । सहयोगवापत इलाका प्रहरी कार्यालयले असेज्वालाई प्रसंसा पत्र प्रदान गरेको थियो ।


चर्चसँग सम्बन्धित विश्वव्यापी विश्वका १७५ वटा राष्ट्रका सात हजार ५०० क्षेत्रहरूमा सक्रिय स्वयंसेवकहरुको समुह असेज्वाले विभिन्न अभियानहरु सञ्चालन गरिरहेको छ। रक्तदान, शैक्षिक सहयोग, आपतकालिन व्यवस्थापन तथा राहत वितरण, वृद्धाश्रमलाई सहयोग, सरसफाई, वृक्षारोपणजस्ता कार्यहरु गर्दै आएको छ । जसवापत विभिन्न संघसंस्थाहरुबाट संस्थालाई सम्मान पदक तथा अवार्डसमेत प्राप्त भएको छ ।


असेज्वाले सुन्दरहरैँचा ग्रामथान, इटहरीको शुभ मार्ग टोलमा छिमेकी सहज पुल निर्माणलगायतका कामहरु गरिसकेको छ । देशभरका विभिन्न जिल्लामा शिक्षा, स्वास्थ्य, वातावरणजस्ता क्षेत्रमा विभिन्न पुर्वाधार निर्माण र जनचेतना अभिवृद्धिका कामहरु गरेको जनाइएको छ ।