ठमेलमा एक युवतीको हत्या, युवक पक्राउ

न्युजलय २४ जेठ २०८०, बुधबार ११:५६ मा प्रकाशित

काठमाडौं । ठमेलमा एक युवतीको हत्या भएको छ। ठमेलस्थित भगवतीबहाल डेरा गरी बस्ने चितवनको राप्ती नगरपालिका–७ घर भएकी २६ वर्षीया जेनिशा तामाङको हत्या भएको हो। 

हत्या आरोपमा सोही ठाउँ डेरा गरी बस्ने काभ्रेको धुलिखेल नगरपालिका–१० घर भएका ३० वर्षीय अमर रञ्जितकारलाई पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौंले जनााएको छ । उनलाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको हो। 

उनीहरूबीच आपसी विवाद भई झै–झगडा एवं कुटपिट भएको थियो। कुटपिटबाट गम्भीर घाइते भएकी जेनिशाको त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा उपचारको क्रममा मृत्यु भएको थियो। 

प्रहरी वृत्त लैनचौरबाट खटिएको टोलीले कुटपिटमा संलग्न रञ्जितकारलाई पक्राउ गरेको हो। उनीमाथि कर्तव्य ज्यानको कसुरमा म्याद लिएर अनुसन्धान अघि बढाइएको छ।