सोलुखुम्बु । सगरमाथामा हिउँ तथा बरफ नपग्लीकन सिधै वाष्पीकरण हुने गरेको एक अध्ययनले देखाएको छ । सो क्षेत्रमा जडान गरिएका स्वचालित मौसम–मापन यन्त्रले तीव्र रूपमा हिउँको तहमा ह्रास आएको देखाएको छ ।
विश्वकै सबैभन्दा अग्लो सगरमाथामा तीव्र गतिमा प्रवाह हुने चिसो हावा र न्यून आद्र्रताले नयाँ हिउँ नपरेको अवस्थामा हिउँदयाममा यसको उचाइ ९० सेन्टिमिटरसम्मले घट्न सक्ने एक अध्ययनको प्रारम्भिक प्रतिवेदनले देखाएको हो ।
यो प्रक्रिया लामो समयसम्म जारी रहे सगरमाथाको उचाइमासमेत परिवर्तन हुन सक्ने देखिएको छ।
मौसम र जलवायुको क्षेत्रमा काम गर्दै आएको बेलायतको रोयल मेटेरोलोजिकल सोसाइटीद्वारा प्रकाशित वैज्ञानिक जर्नल ‘वेदर’मा नेपाली वैज्ञानिक तेन्जिङ छोग्याल शेर्पाले नेतृत्व गरेको शोधकर्ताहरूको समूहले तयार पारेको प्रतिवेदन प्रकाशित भएको छ। प्रतिवेदनअनुसार सगरमाथा शिखरमा हावाको घण्टागत सरदर चिसोपना सबैभन्दा बढी माइनस ८३ डिग्री सेल्सियस र सबैभन्दा कम माइनस ७७ डिग्री सेल्सियससम्म झर्ने देखिएको छ।
अध्ययनले सगरमाथाको उच्च भूभागमा प्रवाह हुने तीव्र चिसो हावा र न्यून सापेक्षिक आद्र्रताका कारण हिउँद याममासमेत प्रतिदिन २.५ मिलिमिटर पानीबराबरको हिउँको तह उर्ध्वपातनमार्फत नष्ट हुने र यसले अन्ततः शिखरमा हिउँ थुप्रो कम हुँदै जाने देखाएको छ।