मोरङमा सवारी दुर्घटना, दुई जनाको मृत्यु

न्युजलय २४ मङ्सिर २०७८, शुक्रबार ०७:२७ मा प्रकाशित

विराटनगर । मोरङका छुट्टाछुट्टै स्थानमा सवारी दुर्घटना हुँदा बिहीबार राति दुई जनाको मृत्यु भएको छ । विराटनगर महानगरपालिका र बूढीगंगा गाउँपालिकामा दुर्घटना हुँदा साइकल यात्री र स्कुटर चालकको मृत्यु भएको हो । विराटनगरमा ट्याक्टरले साइकललाई ठक्कर दिँदा र बूढीगंगामा स्कुटर आफैँ अनियन्त्रित हुँदा दुर्घटना भएको मोरङ ट्राफिक प्रमुख प्रहरी निरीक्षक चन्द्रबहादुर खड्काले बताए । 

 

उनका अनुसार विराटनगर–११ रामपुरमा पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको साइकललाई को २ त ७१३९ नम्बरको ट्याक्टरले ठक्कर दिँदा साइकल यात्री विराटनगर–११ का ३४ वर्षीय मुन्ना सहनीको मृत्यु भएको हो । ओभरटेक गर्ने क्रममा ट्याक्टरले साइकललाई ठक्कर दिँदा गम्भीर घाइते भएका सहनीको उपचारका क्रममा कोसी अस्पतालमा मृत्यु भएको जानकारी खड्काले दिए । 


प्रहरीका अनुसार ट्याक्टर र चालक विराटनगर–११ का मुकेश कामतलाई नियन्त्रणमा लिएर घटनाको अनुसन्धान सुरु गरिएको छ । कामतले सवारी चालक अनुमति पत्र (लाइसेन्स) प्राप्त नगरिकन ट्याक्टर चलाउने गरेको पाइएको प्रहरीले जनाएको छ । 


त्यस्तै कोसी लोकमार्गअन्तर्गत बूढीगंगा–२ मा आफैँ अनियन्त्रित भएको स्कुटर राति ८ बजेतिर सडकको बीच भागमा राखिएको डिभाइडरमा ठोक्किएर दुर्घटना भएको छ । उत्तरबाट दक्षिणतर्फ आउँदै गरेको प्रदेश १–०४–००१ प ६४६० नम्बरको स्कुटर दुर्घटना हुँदा चालक मोरङको उर्लाबारी नगरपालिका–४ का २६ वर्षीय सुरज खनालको मृत्यु भएको जानकारी प्रनि खड्काले दिए । 


उनका अनुसार दुर्घटनामा परेर गम्भीर घाइते भएका खनालको उपचारका क्रममा बूढीगंगा गाउँपालिकास्थित विराट शिक्षण अस्पतालमा मृत्यु भएको हो । दुर्घटनामा मृत्यु भएका खनालको साथमा पनि लाइसेन्स फेला नपरेको खड्काले बताए । 


उनका अनुसार तीव्र गतिका कारण स्कुटर दुर्घटनामा परेको पाइएको छ । प्रहरीले दुवै घटनाका बारेमा सुक्ष्म रूपमा अनुसन्धान सुरु गरिएको जानकारी दिएको छ ।