माओवादी प्रदेश १ अध्यक्षमा जुटेन सहमती, आफ्ना आफ्नै दावी

न्युजलय ३० मङ्सिर २०७८, बिहिबार ०७:३७ मा प्रकाशित

मोरङ । अधिवेशन सकिएको लामो समयसम्म पनि नेकपा माओवादी प्रदेश १ कमिटीले पदाधिकारी चयन गर्न सकेको छैन । आगामी पुस ७ गते बस्ने बैठकले भने निकास निकाल्ने अनुमान गरिएको छ । 

गत मंसिर २५ र २६ गते सम्पन्न अधिवेशनले २ सय ६९ जनाको सदस्यीय प्रदेश कमिटी चयन गरेको थियो । तर, हालसम्म कमिटीको पदाधिकारी चयन हुन नसकेको हो । बुधबार विराटनगरमा बसेको प्रदेश कमिटीको बैठकले पदाधिकारीको टुंगो लगाउने भनिएको थियो । तर प्रदेश कमिटीको नेतृत्वमा सुनसरीका मुक्साहाङ मेन्याग्बो, शिवकुमार डाँगी र पाँचथरका हर्कबहादुर नेम्वाङले आफ्नो अडान नछाडेपछि पदाधिकारीको टुंगो नलागेको हो ।

प्रदेशका सहइन्चार्ज सावित्री कुमार काफ्लेले नयाँ नेतृत्व छनोटका लागि पार्टीका केन्द्रीय सदस्य तथा प्रदेश १ का सहइन्चार्ज अजम्बर काङमाङको नेतृत्वमा सुरेशकुमार राई, इन्द्रबहादुर आङ्बो र हेमराज भण्डारी रहने गरी कार्यदल गठन गरेका छन् । कार्यदलले प्रदेश समितिको आगामी ७ गते बस्ने बैठकमा प्रस्ताव पेस गर्ने जिम्मा पाएको छ।