बर्दिबास । महोत्तरीको माइस्थान समसी सडकखण्डस्थित रामनगरको जङ्गलमा बुधवार(आज) भएको सवारी दुर्घटनामा एकै परिवारका तीन जनाको मृत्यु भएको छ ।
मृत्यु हुनेमा सिरहा कल्याणपुर नगरपालिकाका २६ वर्षीय अमृत मण्डल, उनकी २४ वर्षीया श्रीमती अञ्जु मण्डल र ६ वर्षीया भतिजी अंशु मण्डल रहेको गौशाला प्रहरीले जनाएको छ ।
अमृत र अंशुको बर्दिबासस्थित शुभ स्वस्तिक अस्पताल तथा अञ्जुको ट्रमा सेन्टरमा मृत्यु भएको हो । गम्भीर अवस्थाका उनीहरूको टाउको र शरीरका विभिन्न भागमा चोट लागेको प्रहरीको भनाइ छ ।
समसीबाट यात्रु बोकेर जनकपुरतर्फ जाँदैगरेको बा ३ ख २३९६ नम्बरको जय मातादी ट्राभल्सले विपरीत दिशातर्फ जाँदैगरेको मधेश प्रदेश ०१–००४ प ६८१९ नम्बरको मोटरसाइकललाई जङ्गली क्षेत्रमा पर्ने रेल्वे पुलनजिकको मोडमा आज ठक्कर दिएको थियो । दुर्घटनामा परी मृत्यु हुनेमा तीनै जना मोटरसाइकलमा सवार थिए ।
दुर्घटनाका कारण अझ खुल्न सकेको छैन । दुर्घटना गराउने बसलाई प्रहरीले इलाका प्रहरी गौशालाले नियन्त्रणमा लिएको छ । चालक फरार रहेको प्रहरीले जनाएको छ ।