ज्वाइँको कुटपिटबाट ससुराको मृत्यु

न्युजलय २६ चैत २०७९, आइतबार ११:३३ मा प्रकाशित

राजविराज । सप्तरीमा ज्वाइँले कुटपिट गर्दा ससुराको मृत्यु भएको छ।

गत पुस ११ गते बोदेबर्साइन नगरपालिका–६ खामगडा बस्ने ५५ वर्षीय छठु महतोलाई उनकै ज्वाइँ सोही नगरपालिका–७ बस्ने २३ वर्षीय रामचन्द्र महतोले घरायसी विवादका कारण कुटपिट गरेका थिए।

कुटपिटबाट छठु महतोको नाक, मुख, टाउको र शरीरका विभिन्न भागमा चोट लागेकोमा धरानमा उपचार भएको थियो। स्वास्थ्य अवस्था सुधार भएपछि चैत १८ गते घर फर्केर‍ औषधी सेवन गर्दै आएकोमा शनिबार मृत्यु भएको जिल्ला प्रहरी कार्यालय, सप्तरीले जनाएको छ।

यता, छठु महतोको मुत्यु हुनुभन्दा अगाडि नै झैझगडा तथा कुटपिट भएपछि छठु महतोको श्रीमतीले ज्वाइँविरुद्ध जाहेरी दिएकी थिइन्।

ज्यान मार्ने उद्योगमा अनुसन्धानको अभियोग प्रतिवेदनसाथ सप्तरी जिल्ला अदालतमा पेश गर्दा मुद्दाको सुनुवाइको क्रममा प्रतिवादी महतोसँग जिल्ला अदालतले ५० हजार रुपैयाँ धरौटी मागेको थियो।

उक्त धरौटी तिर्न नसकेपछि महतो कारागारमा रहेको प्रहरीले जनाएको छ । यस सम्बन्धमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।