पक्षपाती निर्णय सच्याउन प्रेस चौतारीको अल्टीमेटम

न्युजलय २१ भदौ २०८०, बिहिबार ०९:२३ मा प्रकाशित

विराटनगर । प्रेस चौतारी नेपाल कोशी प्रदेशले सदस्यता नविकरण तथा नयाँ वितरणमा पक्षपात नगर्न चेतावनी दिएको छ । फरक आस्थाको आधारमा पक्षपातपूर्ण निर्णय गरी सदस्यताबाट वन्चित गर्ने कार्य नसच्चिए कडा आन्दोलनमा उत्रने चेतावनी दिएको छ ।


बुधबार प्रदेश महासंघलाई ज्ञापनपत्र बुझाउँदै चौतारी प्रदेश अध्यक्ष अविजाल विष्टले १५ बुँदे गम्भीरतापूर्वक कार्यान्वयन गर्न माग गर्दै सहमति भएका जिल्लाबाहेक अन्य जिल्लाबाट आएका उजुरीलाई गम्भीरतापूर्वक लिनसमेत माग गरेको छ । उजुरीहरुलाई प्रदेशले आवश्यक छानबिन नै नगरी छानीछानी आस्थाको आधारमा कसैको नविकरण तथा नयाँ वितरण गर्ने अनि त्यही मापदण्डमा कसैको नगर्ने गरेको पाइएको चौतारीको आरोप छ ।


सहमति भएर जिल्ला शाखाबाट आएका नामहरु समेत प्रदेशले विवेदपूर्ण र पूर्वाग्राही सोच लादेर नाम हटाएको साथै सहमति भएर आएका जिल्ला शाखाहरुको नाममा पनि थप्ने, हटाउने काम गरिएको भन्दै निन्दा गरेको छ । विष्टले संगठनको संयमतालाई कमजोरी नठान्न चेतावनी दिँदै आस्थाको आधारमा गरिएको विभेदपूर्ण निर्णय सच्याएर महासंघलाई सबैको अभिभावकीय संगठन भएको अनुभूति दिलाउन आग्रह गरे ।


प्रेस चौतारी नेपाल कोशी प्रदेश कमिटिको ज्ञापन पत्र बुझ्दै नेपाल पत्रकार महासंघ कोशी प्रदेशका महासचिव विवेक गौतमले आफूहरुले त्रुटी सक्दो कम गर्न कोसिस गरेको बताउँदै कमीकमजोरी भएको हुनसक्ने बताए । उनले प्रदेशले निर्णय गरिसकेकोले छुटेका नामहरुको सन्दर्भमा केन्द्रमा उजुरी गर्नसमेत आग्रह गरे ।