काठमाडौँ । आज किराँत समुदायको महान् उधौली पर्व धुमधामका साथ मनाइदैँछ । किराँत समुदायका मूलतः राई, लिम्बु, सुनुवार र याख्खाहरूको महान् चाड उधौली पर्व हरेक वर्ष मंसिर पूर्णिमाका दिनबाट सुरु भई १५ दिनसम्म विभिन्न कार्यक्रमसहित मनाउने गरिन्छ ।
हिउँद सुरु भएपछि जाडो छल्न मानिस, जीवजन्तु तथा चराचुरुङ्गी लेकबाट उँधो अर्थात् बेँसीतिर बसाइँ सर्ने समयमा मनाइने उधौली पर्वका अवसरमा भित्र्याइएको नयाँ अन्नबाली पितृलाई चढाई पितृपूजा गरिनुका साथै राम्रो फसलका लागि भूमिप्रति आभार व्यक्त गर्दै अन्नको सह बसोस् भन्ने कामनासहित भूमिको पूजा गर्ने गरिन्छ ।
यस अवसरमा किराँत युवायुवती र वृद्धवृद्धासमेत परम्परागत पहिरनमा ढोल र झ्याम्टाको तालमा सामूहिक रूपमा साकेला नृत्य गर्दै रमाइलो गर्दछन् ।