धरान । चरम पानी अभाव भएपछि धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका कक्षा स्थगित भएका छन् ।
दन्त चिकित्साका दोश्रो वर्षका बाहेक सबै कक्षाहरु जेठ ३० सम्म स्थगित भएको प्रतिष्ठानले सूचना जारी गरेको छ ।
धरानमा पानी चरम अभाव भएपछि प्रतिष्ठानको पठनपाठनमा समस्या आएको थियो । केही दिन अगाडि पर्याप्त पानीको माग गर्दै प्रतिष्ठानका विद्यार्थीले आन्दोलन समेत गरेका थिए ।
पानी अभावले डाइलासिसमा समेत असर पर्ने देखिएको छ । प्रतिष्ठानका अनुसार डायलायसिस वार्डमा दैनिक औसतमा ४० देखि ६० बिरामीको डायलायसिस हुन्छ। प्रति बिरामी औसतमा ३ सयदेखि ६ सय लिटरसम्म पानी खपत हुने गर्दछ ।