सेउती पुल नजिकै गोली हानी हत्या घटनामा संलग्न थप दुई जना पक्राउ

न्युजलय १९ साउन २०८०, शुक्रबार ०२:१५ मा प्रकाशित

विराटनगर । दुई साताअघि धरान–इटहरी सडक खण्डको सेउती पुल नजिकै भएको लुटपाट एवं गोली प्रहार घटनामा संलग्न भएको आरोपमा थप दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । 

साउन ५ मा भएको उक्त लुटपाटको प्रतिकारको क्रममा लुटेराले हानेको गोली लागेर घाइते भएका विराटनगर–५, कोचाखालका २८ वर्षीय रोहित चौधरीको उपचारको क्रममा सोही दिन मृत्यु भएको थियो ।

कोशी प्रदेश प्रहरी कार्यालयका अनुसार धरान–८ बस्ने झापा भद्रपुर नगरपालिका–१ का ३० वर्षीय प्रकाश लिम्बू र विराटनगर–१५ का ४१ वर्षीय अजयकुमार शर्मालाई बिहीबार पक्राउ गरिएको हो ।

पक्राउ परेकामध्ये शर्माको घटनामा प्रयोग भएको पेस्तोल बेचबिखनमा भूमिका रहेको प्रहरीले जनाएको छ । उनी लागूऔषध मुद्दामा ४ वर्ष ८ महिना कैद भुक्तान गरी ४ महिना अगाडि छुटेको प्रहरी अनुसन्धानमा खुलासा भएको छ ।

उक्त घटनामा संलग्न मोरङको लेटाङ नगरपालिका–१ का ३५ वर्षीय दीपक तिमिल्सिना र धरान–१० का ३४ वर्षीय अनसन तामाङलाई १६ साउनमा प्रहरीले पक्राउ गरेको थियो ।

श्रृंखलाबद्ध लुटमा संलग्न रहेर पक्राउ परेका उनीहरुबारे इलाका प्रहरी कार्यालय इटहरीबाट थप अनुसन्धान भइरहेको छ ।