धरानमा सामूहिक बलात्कारपछि हत्या घटनामा संलग्न १६ वर्षपछि पक्राउ

न्युजलय ८ जेठ २०८०, सोमबार ०६:५७ मा प्रकाशित

धरान । धरानमा १६ वर्षअघि भएको सामूहिक बलात्कारपछि हत्याको घटनामा संलग्न भएको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ ।

२०६४ साल मंसिर २३ गते धर्मशालाको कोठामा विभत्स अवस्थामा मृत भेटिएकी महिलाको बलात्कारपछि हत्या गरेको आरोपमा इलाका प्रहरी कार्यालय धरानले १६ वर्षपछि दुई जनालाई पक्राउ गरेको हो ।

इलाका प्रहरी कार्यालय धरानका अनुसार धनकुटा शहीदभूमि गाउँपालिका–१ धापका ५६ वर्षीय चन्द्रबहादुर राई र सोही स्थानका ४४ वर्षीय कल्पन राई पक्राउ परका हुन् ।

घटना हुँदा चन्द्रबहादुर ४० र कल्पन २८ वर्षका थिए । दुवैले घटनामा आफ्नो संलग्नता स्वीकार गरेको प्रहरीले जनाएको छ । 

२०६४ साल मंसिर २३ गते बेलुका तत्कालीन धरान –५ मा रहेको बलभद्रेश्वर अरुणोदय धर्मशालाको कोठा नम्बर २१८ मा २५ वर्षीय ललिता राईको शव विभत्स अवस्थामा फेला परेको थियो । धरान–१० बेलगाछी बस्ने उनको शव सडेको अवस्थामा फेला परेको थियो ।

घटनापछि मुस्किलले मृतकको पहिचान गरेको प्रहरीले आरोपीलाई पक्राउ गर्न सकेको थिएन् । आरोपीको स्पष्ट ‘क्लु’ नभेटेको र किटानी जाहेरी पनि नपरेपछि घटनाको फाइल थन्किएको थियो ।

करिब दुई महिनाअघि फाइल खोलेर अनुसन्धान सुरु गरेको प्रहरीले बलात्कारपछि हत्यामा संलग्न भएको आरोपमा दुई जनालाई पक्राउ गरेको हो ।

प्रहरीका अनुसार पक्राउ परेका दुवै जना साथी हुन् । मिसिल अध्ययन गरी विगतमा रोकिएको स्थानबाट अनुसन्धान सुरु गरेको प्रहरी शंकास्पद व्यक्ति खोज्दै धनकुटा पुगेको थियो । सुरुमा चन्द्रबहादुरलाई पक्राउ गरेको प्रहरीले लगतै कल्पनलाई पनि पक्राउ गरेको हो ।

प्रहरीका अनुसार ललिता श्रीमानसँग सम्बन्ध बिग्रिएपछि माइतमा बस्दै आएकी थिइन् । उनको प्रेम सम्बन्ध चन्द्रबहादुरसँग थियो ।

महिलालाई चन्द्रबहादुरले २०६४ मंसिर १९ गते धर्मशालामा बोलाएका थिए ।महिलालाई लगेपछि उनले आफ्ना साथी कल्पन राईलाई पनि बोलाएर करणी गरेको प्रहरीको भनाइ छ ।

प्रहरीका अनुसार धर्मशालामा दुई वटा कोठा बुक गरेर एउटामा चन्द्रबहादुर र ललिता र अर्कोमा कल्पन बसेका थिए । चन्द्रबहादुरले कल्पनलाई कोठामा बोलाएपछि दुवै जनाले पालैपालो करणी गरे । महिलाले प्रतिकार गरेपछि पोल खुल्ने डरले घाटी थिचेर हत्या गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको प्रहरीले बताएको छ ।

हत्यापछि कोठामा नै शव छाडेर उनीहरु फरार भएका थिए । 

पक्राउ परेकामाथि बलात्कार तथा कर्तव्य ज्यान मुद्दामा म्याद थप गरी अनुसन्धान सुरु गरेको प्रहरीले बताएको छ ।