इटहरी १४ का १४० घरपरिवार बाढी पिडितलाई लायन्सको राहत सहयोग

शंकर खत्री २३ मङ्सिर २०७८, बिहिबार १२:५३ मा प्रकाशित

इटहरी । गत असोज २ र ३ गते वेमौसमी वर्षासँगै अएको बाढी क्षति पुगेको इटहरी –१४ मा लायन्स क्लबले आवश्यक राहत सामग्री सहयोग गरेको छ । सो वडाका १४० घर बाढी पिडितलाई लायन्सले राहत सहयोग गरेको हो । 

सोहि वडाका वडाध्यक्ष रमेशप्रसाद चौधरीको उपस्थितिमा लायन्सले ७५ घरपरिवारलाई राहत सामग्री सहयोग गरेको हो । बाँकी घर परिवारलाई भोलि राहत सामग्री हस्तान्तरण गरिने लायन्सले जानकारी दिएको छ । 

बाढी तथा पहिरोमा परेर क्षति पुगेको सुनसरी, मोरङ र झापामा कुल १० हजार डलर बराबरको राहत सामग्री वितरण गर्ने ध्येयले कार्यक्रमको प्रारम्भ गरिएको लायन्सका सेकेण्ड भिडिजि नरनाथ सापकोटाले जानकारी दिए । १० हजार डलर मध्ये सुनसरी र झापामा ३०÷३० प्रतिशत् र मोरङमा बाँकी रहेको ४० प्रतिशत् रकम बराबरको राहत सहयोग गरिने उनले जानकारी दिए । 

यता वडाध्यक्ष चौधरीले भने राहत वितरण ढिलै भए पनि बाढी पिडित कहाँ पुगेकोमा खुसी व्यक्ति गरेका छन् । बाढीको प्रभावकै समयमा राहत वितरण गर्न सकेको भए यसको प्रभावकारीता झन बढी हुने उनको तर्क छ ।