इटहरी । १ नम्बर प्रदेशका प्रदेश सभा सदस्य सर्वध्वज साँवाले लैङ्गिक हिंसा अन्त्य गर्न समस्याको जडसम्म पुनुपर्ने बताएका छन् ।
विहिबार(आज) इटहरीमा इटहरी उपमहानगरपालिकाले आयोजना गरेको लैङ्गिक हिंसा विरुद्ध १६ दिने अभियानको समापन समारोहमा बोल्दै समस्याको जडमा नपुगेकै कारण हिंसाका घटना बढ्दै गएको उनको भनाइ छ ।
इटहरीमा आउने बाढीको वितण्ड र लैङ्गिक हिंसा उस्तै भएको उनको टिप्पणी छ । ‘यो हिंसाको जड, उत्पति, यसको विऊ, यसको कारण चाहिँ के हुन सक्ला । त्यो चाहिँ पत्ता लगाउनु पर्छ होला’, साँवाले भने, ‘जसरी यो वर्ष इटहरीको बाढीले हामीलाई तर्सायो नि ! डुबायो नि ! यसको जड कहाँ छ, त्यहाँ गएर त्यो बाढी आउने ठाउँलाई बन्द गर्न सकेको खण्डमा इटहरीमा बढी पस्न सक्दैन । त्यस्तै यो लैङ्गिक हिंसा हुनुको कारण के हो ? त्यता पट्टि चाहिँ हामी जनुपर्छ होला ।’
संधै समस्या भएपछि मात्रै बाहिर ल्याउने परम्परा रहँदै आएकाले अब हिंसा नै हुन नदिन प्रयत्न सुरु गर्नुपर्ने उनको जिकिर छ ।
जड पत्ता लागे हिंसा आफैँ अन्त्य भएर जाने उनको भनाई छ । ‘खाली मलाई यसो गर्यो, यस्तो भयो, त्यस्तो भयो, मलाई असमानता भयो, अन्याय भयो, थिचोमिचो गर्यो भनेर हुन्छ ?’, ‘किन त्यस्तो भइरहेको छ त्यो पो पत्ता लगाउनु पर्छ त !’ यस्तै अशिक्षाका कारण पनि हिंसाका घटना बढ्दोदरमा रहेको उनको भनाइ छ । शिक्षाको विकास गरे पनि हिंसा अन्त्य गर्न सकिने उनको भनाइ छ ।
यस्तै परम्परागत धर्म ग्रन्थमा पनि हिंसा गर्ने खालका श्लोक रहेकाले पनि हिंसा बढेको उनको तर्क छ । ‘ठूला–ठूला महिलाहरुको संगठन, पार्टीहरु, विभिन्न महिला सञ्जालहरुदेखि लिएर सबैको ध्यान त्यता गएको देख्दिन त्यो के हो भने, हामीले मानिल्याएको धर्म, धार्मीक ग्रन्थहरु, धार्मीक किताबहरु जसलाई हामी महाभारत, रामायण पनि भन्न सक्छौँ यी पुस्तकहरुमा महिला हिंसा हुने टाइपको विभिन्न श्लोकहरु छन् ।
कुराहरु छन् । त्यसमा संसोधन हुनुपर्छ भनेर कसैले भन्नु भएको छ ?’, उनले त्यहाँ रहेका महिला अधिकारकर्मीहरुलाई प्रश्न गरे, ‘त्यता ध्यान जानुपर्छ कि पर्दैन ? म त त्यताबाट पनि म डरलाग्दो देख्छु ।’ यस्ता धर्म ग्रन्थमा भएकार श्लोक तथा भनाइहरु महिला हिंसा हुने खालको भएको सबैलाई थाहा भए पनि संसोधन गर्न कसैले घचघच्याने प्रयास नगरेको उनको भनाइ छ ।
सम्पतीमा हुने असम्मान वितरणले पनि लैङ्गिक हिंसा बढेको उनको भनाइ छ । यो झन् महिला हिंसाको ठूलो समस्या भएको उनको बुझाइ छ । पछिल्लो समय महिलाहरुको पनि सम्पतीमा पहुँच बढ्दै गए पनि त्यो अधिकार प्रत्यायोजनका लागि भन्दा पनि सरकारले कर लगायताका अंकुबाट जोगिन गरिएको उनको भनाइ छ । ‘अर्को अझ मुख्य जड भनेको सम्पतीमा असमानता ।
अहिले पछिल्लो समयमा त महिलाको नाममा भटाभट जग्गा पास हुन थाले’, प्रदेशसभा सदस्या सावाँले भने, ‘तर त्यो किन भने महिलाहरलाई अधिकार दिउँ भन्दा पनि राजस्व जुन लाग्छ अहिल कम हुन्छ । महिलाको नाममा पास गर्दा २÷३ प्रतिशत् मात्रै छ राज्यलाई अलि कम दिउँ भन्ने ढंगले मात्रै आइरहेको छ ।’