विराटनगर । विराटनगरमा बिहीबार बिहान मोटरसाइकल दुर्घटना हुँदा राष्ट्रिय क्रिकेट खेलाडीको मृत्यु भएको छ।
प्रहरीका अनुसार विराटनगर महानगरपालिका–५ का क्रिकेट खेलाडी मिनष थापाको मृत्यु भएको हो
मोरङ प्रहरीका अनुसार विराटनगर–४ स्थित भित्री सडक खण्ड हुँदै एयरपोर्ट लाइनबाट गणेश चोकतर्फ जाँदै गर्दा थापाले चलाएको प्रदेश १–०२–०४२ प ८००२ नम्बरको मोटरसाइकल दुर्घटनामा परेको थियो।
राति करिब पौने १ बजेतिर मोटरसाइकल आफैं अनियन्त्रित भएर दुर्घटनामा परेको हुनसक्ने प्रहरीको प्रारम्भिक अनुमान छ।
दुर्घटनामा गम्भीर घाइते भएका थापालाई उपचारका लागि कोशी अस्पताल पुर्याउनसाथ चिकित्सकले मृत घोषित गरिदिएको प्रहरीले जनाएको छ। राष्ट्रिय क्रिकेट खेलाडी थापा कोशी प्रदेशबाट प्रतिनिधित्व गर्दै ९ वर्षभन्दा लामो समयदेखि खेलिरहेका थिए।
मोटरसाइकल नियन्त्रणमा लिएर घटनाको अनुसन्धान सुरु गरिएको प्रहरीले जनाएको छ । शवलाई पोस्टमार्टमका लागि कोशी अस्पतालमा राखिएको प्रहरीले जनाएको छ।