काँकडभिट्टा । किताबमा च्यापेर नेपाल ल्याइँदै गरेको प्रतिबन्धित लागूऔषध ब्राउन सुगरसहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ।
भारतको पानीट्यांकीबाट आएका सल्यान बनगाउँ नगरपालिका–१ सल्लीबजारका ३० वर्षीय रमेश डिसीले बोकेको किताबबाट प्रहरीले २३ ग्राम ब्राउन सुगर बरामद गरेको हो ।
मेचीनगर–६ स्थित पुरानो मेची पुलमुनिबाट पैदल नेपाल आउँदै गरेका डिसीलाई शंका लागी प्रहरीले जाँच गरेको थियो । सोही क्रममा उनले भिरेको झोलाभित्र रहेको किताबको भित्री पानामा प्लाष्टिकले बेरेको ब्राउन सुगर प्रहरीले फेला पारेको हो ।
अभियुक्तलाई हिरासतमा राखी आवश्यक कारबाहीको प्रक्रिया सुरु गरिएको इलाका प्रहरी कार्यालय काँकडभिट्टाले जनाएको छ ।