आजबाट ‘केजिएफ २’ र ‘ए मेरो हजुर ४’ हलमा

न्युजलय ३१ चैत २०७८, बिहिबार ०२:५७ मा प्रकाशित

काठमाडौं । आजबाट सिनेमा हलमा दक्षिण भारतीय फिल्म ‘केजिएफ २’ र नेपाली फिल्म ‘ए मेरो हजुर ४’ प्रदर्शन भएका छन्। देशभरका हलहरुमा नयाँ वर्षको दिनबाट यी दुई फिल्मबीच भिडन्त भएको हो।

 

दक्षिण भारतीय फिल्म ‘केजिएफ २’ २०१८ मा प्रदर्शनमा आएको फिल्म ‘केजिएफ’को सिक्वेल हो। फिल्ममा दक्षिण भारतीय अभिनेता यशसँगै सञ्जय दत्त मुख्य भूमिकामा छन्। फिल्मलाई प्रशान्त निलले निर्देशन गरेका छन्। 

 

त्यस्तै, आजबाटै प्रदर्शनमा आएको ‘ए मेरो हजुर ४’ लाई झरना थापाले निर्देशन गरेकी छिन्। ‘ए मेरो हजुर’ फिल्म श्रृङ्खलाकै निरन्तरताको रुपमा निर्माण भएको यो फिल्ममा अनमोल केसी र सुहाना थापा मुख्य भूमिकामा छन्। 


बिहीबारबाट प्रदर्शनमा आएका दुवै फिल्मलाई सिनेमा हलमा उत्साहजनक दर्शकको उपस्थिति देखिएको छ। प्रतिक्षित ‘केजिएफ २’लाई ‘ए मेरो हजुर ४’को तुलनामा नेपाली फिल्म हलमा धेरै शोहरु दिइएको छ भने दर्शकको उपस्थिति पनि उक्त फिल्मप्रति ‘ए मेरो हजुर ४’को तुलनामा धेरै देखिएको छ।