बढी कर तिर्ने कम्पनी सूर्य नेपाल र व्यक्ति राणा

न्युजलय २ मङ्सिर २०७८, बिहिबार ०५:२० मा प्रकाशित

काठमाण्डौ । सूर्य नेपाल प्रालि सबैभन्दा बढी कर तिर्ने कम्पनीका रूपमा सम्मानित भएको छ । सरकारले आर्थिक वर्ष २०७६–७७ मा आयकर, मूल्य अभिवृद्धि कर, अन्तःशुल्कलगायत गरेर सबैभन्दा बढी कर तिरेको भन्दै सूर्य नेपाललाई सम्मान गरेको हो । 

व्यक्तिगततर्फ भने सबैभन्दा बढी कर तिरेको भन्दै सिद्धार्थशम्शेर जबरा सम्मानित भएका हुन् । सिप्रदी ट्रेडिङ प्रालिका कार्यकारी अध्यक्ष राणाले आव २०७६–७७ मा व्यक्तिगततर्फ सबैभन्दा बढी आयकर बुझाएर सम्मानित भएका हुन् । 

सरकारले दशौँ राष्ट्रिय कर दिवस २०७८ को अवसरमा उत्कृष्ट करदातालाई सम्मान गरेको हो । यसरी सम्मानित हुनेमा सूर्य नेपाल र राणासहित १५ करदाता रहेका छन् । उत्कृष्ट करदाताहरूलाई अर्थमन्त्री जनार्दन शर्मा प्रभाकरले सम्मानपत्र प्रदान गरे । 

आन्तरिक राजस्व विभागका अनुसार सबैभन्दा बढी आयकर दाखिला गर्ने करदातामा नेपाल दूरसञ्चार कम्पनी लिमिटेड, निर्यात कारोबारबाट सबैभन्दा बढी आयकर बुझाउनेमा डाबर नेपाल प्रालि, विशेष उद्योगहरूमध्ये सबैभन्दा बढी आयकर तिर्नेमा एसियन पेन्टस् (नेपाल) प्रालि र कृषि एवं पशुपक्षीजन्य उद्योगहरूमध्ये सबैभन्दा बढी आयकर दाखिला गर्ने करदाता पूर्वाञ्चल एग्रिटेक प्रालि रहेका छन् । 

त्यस्तै, स्वास्थ्य तथा शिक्षा सेवा प्रदायक संस्थाहरूमध्ये सबैभन्दा बढी आयकर दाखिला गर्ने करदाता नोबेल मेडिकल कलेज टिचिङ हस्पिटल रहेका छन् ।