मोरङमा हात्तीको आक्रमणबाट नाबालकसहित तीन जना घाइते

न्युजलय २९ मङ्सिर २०७८, बुधबार ११:४१ मा प्रकाशित

मोरङ । मोरङको केराबारी गाउँपालिकामा जङ्गली हात्तीले आक्रमण गर्दा तीनजना घाइते भएका छन्।

केराबारी गाउपालिका– ९ देविझोडामा मंगलबार राति हात्तीको आक्रमणबाट ५ महिने बालकसहित तीन जना घाइते भएको जनाइएको छ ।

हात्तीको आक्रमणबाट स्थानीय सुरेन राईकी श्रीमती २२ वर्षीया अस्मिता र ५ महिने छोरा क्यालबिन राई तथा १७ वर्षीया प्रतिमा लिम्बू घाइते भएको जनाइएको छ । 

घाइतेमध्ये प्रतिमाको अवस्था गम्भीर रहेको छ। उनको बुढीगङ्गा गाउँपालिकास्थित विराट शिक्षण अस्पतालको आईसीयू राखी उपचार भइरहेको छ।

घाइते अस्मिता र क्यालबिनको नोबेल शिक्षण अस्पतालमा उपचार भइरहेको छ। अस्मिताको देब्रे खुट्टा र करङमा चोट लागेको चिकित्सकले जानकारी दिएका छन्।

दुइटाको संख्यामा आएका हात्तीलाई स्थानीय र प्रहरीले हात्ती धपाएका छन्।