सञ्चारमन्त्री कार्कीद्वारा हरिनगरमा दुईवटा सडक शिलान्यास

शंकर खत्री ११ पुस २०७८, आइतबार ०७:०२ मा प्रकाशित

इटहरी । सरकारका प्रवक्ता एवम् संचार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्र बहादुर कार्कीले आइतबार दुई वटा सडकको शिलान्यास गरेका छन् । सुनसरीको हरिनगर गाउँपालिकामा उनले पक्की नालासहितको दुई वटा सडकको शिलान्यास गरेका हुन् । 


उनले गाउँपालिकाको नरकटिया नहरदेखि भुटाहा बजार र मन्ना घरदेखि रामकुमार घरसम्मको सडकको शिलान्यास गरेका हुन् । शिलान्यास कार्यक्रममा बोल्दै मन्त्री कार्कीले सडक निर्माणमा गाउँपालिका अध्यक्षको उच्च चासो रहेकाले समयमा नै निर्माण सम्पन्न हुने दावी गरे । उनले सडक निर्माणमा आवश्यक बजेटको अभाव पूर्तिमा आफूले पनि सकेको सहयोग गर्ने प्रतिवद्धता व्यक्त गरे । यो सडक निर्माणमा तीन तहकै सरकारको ध्यानाकर्षण भएको भन्दै मन्त्री कार्कीले समयमा नै तोकेको मापदण्डमा सडक निर्माण हुने दावी गरे । 


‘म तपाइँहरुलाई विश्वास दिलाउन चाहन्छु कि यो सडक समयमा नै प्रारम्भ भएर समयमा नै निर्माण सम्पन्न हुने छ’, मन्त्री कार्कीले भने, ‘यसलाई सम्पन्न गर्नका लागि अर्थको, बजेटको अभाव हुने छैन भने विश्वास मैले लिएको छु । आज तीन तहको सरकार रहेको छ । यो सडकमा तीनै तहको सरकारको सहभागिता रहेको छ । जनताको निमित, जनताको सुविधाका लागि सुरु भएको यो कार्यक्रम निर्धारित समयमा नै सम्पन्न हुने छ ।’ यो सडक निर्माणपछि बर्खायाममा सास्ति भोग्दै आएका यहाँका स्थानीयले राहत पाउने उनको विश्वास छ । 


शिलान्यास कार्यक्रममा नै बोल्दै गाउँपालिकाका अध्यक्ष गफार अन्सारीले आफू निर्वाचीत भएर आएपछिको साढे चार वर्षको अवधिमा गाउँपालिकामा विकासको लहर नै चलेको दावी गरे । उनले स्थानीय तहको निर्वाचन पछि स्थानीयको सहयोगले गाउँपालिकामा सडक, धार्मीम मठ–मन्दिरका साथै व्यक्तित्व विकासको क्षेत्रमा पनि उल्लेख्य काम गरेको बताए । कतिपय सडकहरु अहिले गाउँपालिकासँगै माथिल्ला सरकारको सह–लगानिमा निर्माण भइरहेकाले ति सडक पनि आफ्नो कार्यकालमा नै निर्माण सम्पन्न गर्ने उनको भनाइ छ । यसका साथै गाउँपालिकामा आधारभूत स्वास्थ्य चौकी र प्राथमिक स्वास्थ्य केन्द्रको स्थापनालाई पनि आफूले प्राथमिकताका साथ अगाडि बढाएको जानकारी दिए । आफ्नो कार्यकाल उतरार्धमा आएकाले अब मुल्यांकनको समय आएको उनको भनाइ छ ।


‘हामीले धेरै काम तपाइँको बिचमा गरेका छौँ । त्यो तपाइँहरुले देखिरहनुभएको छ’, गाउँपालिका अध्यक्ष अन्सारीले भने, ‘२०७४ भन्दा पहिला हरिनगरको अवस्था कस्तो थियो र अहिले, २०७८ मा यहाँको अवस्था कस्तो छ तपाइँहरुले हेर्न सक्नुहुन्छ । हामीले सडक कालोपत्रे गरेका छौँ । पुल निर्माण गरेका छौँ । मन्दिर, मदरसा, कवरस्थान र चिहानहरुमा पनि उलेख्य काम गरेका छौँ ।’ सडक निर्माणको ठेक्का पाएका किशोर बुढाथोकीले यसअघि गाउँपालिकाको परियोजनामा तोकेको समय भन्दै अघि नै सम्पन्न गरेको स्मरण गराउँदै यो पटक पनि सबै तहबाट सहयोग भए दुई वर्ष अघि नै निर्माण सम्पन्न गर्ने प्रतिवद्धता व्यक्त गरे ।