पहिलोपटक पिएनजीविरुद्ध घरेलु मैदानमा क्रिकेट खेल्दै नेपाल

न्युजलय ११ चैत २०७८, शुक्रबार ०१:०७ मा प्रकाशित

काठमाडौं । नेपालले एकदिवसीय अन्तर्राष्ट्रिय सिरिजको पहिलो खेलमा आज पाहुना टोली पपुवा न्युगिनी (पिएनजी) को सामना गर्दैछ । खेल कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा बिहान ९ बजे सुरु हुनेछ । नेपालले पहिलोपटक घरेलु मैदानमा पिएनजीको सामना गर्न लागेको हो । 

 

सन्दीप लामिछानेको कप्तानीमा रहेको नेपाल आज पिएनजीलाई हराउँदै सिरिजमा सुखद सुरुवात गर्न चाहन्छ । असद भालाको कप्तानीमा रहेको पिएनजी पनि घरेलु टोलीलाई स्तब्ध पार्ने सोचमा हुनेछ ।


दुई खेलको एकदिवसीय सिरिज र त्रिदेशीय टी(२० सिरिजका लागि पिएनजी नेपाल भ्रमणमा आएको हो । एकदिवसीय सिरिजको दोस्रो खेल शनिबार हुनेछ ।


युएईमा सम्पन्न आइसिसी क्रिकेट विश्वकप लिग २ अन्तर्गतको त्रिकोणात्मक एकदिवसीय सिरिज खेलेर पिएनजी नेपाल आएको हो । उक्त सिरिजको दुवै खेलमा नेपालले खेलमा पिएनजीलाई हराएको थियो । नेपाल पहिलो खेलमा २ तथा दोस्रो खेलमा ७ विकेटले विजयी भएको थियो ।