राजविराज । सप्तरीको राजविराजस्थित एक छात्रावासको तेस्रो तलाबाट लडेर एक ९ वर्षीय बालकको ज्यान गएको छ ।
राजविराज–७ स्थित प्यारागन विद्यालयको तेस्रो तलाबाट लडेर डाकनेश्वरी नगरपालिका–७ का ९ वर्षीय मोहम्मद ममताजको मृत्यु भएको हो । उनी कक्षा २ मा अध्ययनरत थिए ।
प्यारागन विद्यालयमा कक्षासँगै छात्रावाससमेत राखिएको छ । गत वैशाख १२ गते मात्र सो विद्यालय र छात्रावासमा भर्ना भएका बालक ममताज भर्ना भएको २ दिनपछि पैतालामा घाउ भएर अभिभावकसँग घर गएका थिए ।
वैशाख २१ गते बिहीबार मात्र छात्रावास आएका उनी छतबाट लडेका थिए ।
छात्रावासमा ट्युसन पढिरहेका बेला साढे ५ बजे एउटा शिक्षकको पालो समाप्त भएको र त्यसपछि विद्यालयमा प्रिन्सिपल उमाकान्त साहले ट्युसन कक्षा लिने तयारी थियो । तर साह ट्युसन कक्षामा पुग्न केही मिनेट ढिलाइ भएको खाली समयमा विद्यार्थीलाई हेर्ने कोही नभएपछि विद्यालयको तेस्रो तल्लाको छतमा गएका बालक ममताज त्यहाँबाट लडेका थिए । त्यो तल्लामा रेलिङ छैन । रेलिङ नहुँदा तल हेर्ने क्रममा बालक लडेको हुन सक्ने अनुमान गरिएको छ ।
तेस्रो तल्लाबाट लडेपछि बालकलाई उपचारका लागि छिन्नमस्ता अस्पताल ल्याएको केहीबेरमै उनको ज्यान गएको थियो । सप्तरीका प्रहरीले घटनाबारे अनुसन्धान भइरहेको जनाएको छ ।