दर्ता र नवीकरण नगरिएका क्रसर उद्योग बन्द गर्न परिपत्र

न्युजलय २१ पुस २०७९, बिहिबार ०७:३८ मा प्रकाशित

काठमाण्डौ । सरकारले दर्ता र नवीकरण नगरिएका क्रसर उद्योग बन्द गर्न निर्देशन दिएको छ । 

गृह मन्त्रालयले कानुन विपरीत ढुङ्गा, गिट्टी तथा बालुवा उत्खनन तथा दोहन नियमनका लागि बुधवार ७७ वटै जिल्ला प्रशासन कार्यालयलाई परिपत्र जारी गरी निर्देशन दिएको हो । 

कानुन विपरीत ढुङ्गा, गिट्टी तथा बालुवा उत्खनन तथा दोहन कार्यलाई नियमन गर्न, वातावरण संरक्षण ऐन २०७६ को पालना र यस सम्बन्धमा अदालतबाट भएको आदेश कार्यान्वयन गर्न आवश्यक देखिएकाले यो परिपत्र जारी गरिएको गृह मन्त्रालयले जनाएको छ ।

स्थानीय प्रशासनमार्फत अनुगमन हुने र अनुमति नलिएका, दर्ता नभएका, नवीकरण नभएका तथा आयोजना समाप्त भएपछि पनि उत्खनन गरिरहेका उद्योग फेला परेमा बन्द गरिने जनाइएको छ ।