इटहरी । धरान उपमहानगरपालिकाले तरहराको पानीपियामा फेरि ‘सीमा प्रारम्भ’ अंकित बोर्ड राखेको छ ।
धरान उपमहानगर प्रमुख हर्क साम्पाङको निर्देशनमा नगर प्रहरीको टोलीले सोमबार(आज) बिहान बोर्ड राखेको हो । दुई उपमहानगरको विवाद कायम रहेकै बेला कुनै छलफल र समन्वय नगरी धरानले बोर्ड राखेको हो ।
केही महिनाअघि धरानले त्यही ठाउँमा बोर्ड राख्दा नेकपा एमालेनिकट राष्ट्रिय युवा संघ इटहरीले निकालेर फालिदिएको थियो ।
इटहरी र धरान प्रहरीले आफ्नो सीमा क्षेत्र प्रारम्भ भएको बोर्ड सेउती खोला वारी र पारी राखेका थिए । प्रहरीको उक्त बोर्डले पनि धरान र इटहरी उपमहानगरको सीमा भएको भन्ने भ्रम सिर्जना गरेको भन्दै मेयर साम्पाङले हटाउन निर्देशन दिएका थिए ।
मेयर साम्पाङले धरान र इटहरीको सीमा क्षेत्र पानीपिया नै भएकोले बोर्ड राखिएको प्रतिक्रिया दिए ।
उनले यसअघि आएको विवादबारे जिल्ला समन्वय समितिलाई लिखित जानकारी गराएपनि कुनै चासो नदिएको बताए ।
बोर्ड राखेपछि इटहरीमा रहेका राजनीतिक दल तथा अभियानकर्मीले आपत्ति जनाएका छन् ।