धरान । धरान उपमहानगरपालिका–११ मा मंगलबार साँझ आफ्नै मामाका छोराबाट खुकुरी प्रहार गरी ३५ वर्षीय रुपक राईको हत्या भएको छ।
खुकुरी प्रहारबाट उनको घटनास्थलमै मृत्यु भएको हो। घटनामा ३३ वर्षीय रविन राईले रुपकमाथि खुकुरी प्रहार गरेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ।
इलाका प्रहरी कार्यालय धरानका अनुसार खुकुरी प्रहारबाट रुपकको शरीरका विभिन्न भागमा गम्भीर चोट लागेको थियो।
घटनापछि रविनलाई प्रहरीले नियन्त्रणमा लिई थप अनुसन्धान अघि बढाएको छ। मृतकको शव पोस्टमार्टमका लागि बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, धरानमा राखिएको छ।
प्रहरीका अनुसार हालसम्म रुपक र रविनबीच के विषयलाई लिएर विवाद चर्कियो भन्ने यकिन भइसकेको छैन।
प्रहरीले घटनाको वास्तविक कारण पत्ता लगाउन सूक्ष्म अनुसन्धान गरिरहेको जनाएको छ।