काठमाण्डौ । नेपालमा खाने गरिएको नुनमा अत्यधिक आयोडिन पाइएको एक अध्ययनले देखाएको छ।
नेपाली वैज्ञानिकहरूले गरेको अध्ययनमा नेपालीले खाइरहेको नुनमा विश्व स्वास्थ संगठनले सिफारिश गरेको मात्राभन्दा बढी आयोडिन पाइएको हो।
काठमाडौं इन्स्टिच्यूट अफ एप्लाइड साइन्सका निर्देशक वरिष्ठ वैज्ञानिक डा.वसन्त गिरीको टोलीले अनुसन्धान गरेको थियो। उक्त अनुसन्धानबारेको लेख अमेरिकाको द न्यूयोर्क एकेडेमी अफ साइन्सको जर्नल एनल्स मा केही समयअघि प्रकाशित छ।
डा. गिरीका अनुसार, नेपालका सात जिल्लाका भान्साबाट दुई हजार ११७ नुनका नमूना सङ्कलन गरेर आयोडिनको मात्रा विश्लेषण गरिएको थियो। उक्त अनुसन्धान अनुसार करीब ८४ प्रतिशत नुनका नमूनामा अत्यधिक आयोडिन पाइएको बताइएको छ ।
विश्व स्वास्थ्य संगठनले भान्सामा हुने नुनमा करीब १५ पिपिएम आयोडिन पर्याप्त हुने जनाएको छ। अत्यधिक आयोडिन सेवन गर्नाले मानव स्वास्थ्यलाई हानि गर्ने विभिन्न अध्ययनले देखाएको डा. गिरीले बताए।