कोशी प्रदेश नामकरण विवाद : खोटाङमा सभाहलमै सांसदविरुद्ध प्रदर्शन

न्युजलय २५ चैत २०७९, शनिवार ०७:५५ मा प्रकाशित

खोटाङ । कोशी प्रदेश नामकरणमा असन्तुष्टि जनाउँदै जिल्लाबाट निर्वाचित प्रदेश सांसद पाचँकर्ण राई (पिके) विरुद्ध जिल्ला समन्वय समितिको सभाहलमा प्रदर्शन भएको छ ।

खोटाङबाट नेकपा एमाले प्रदेशसभा (क) बाट निर्वाचित सांसद जिल्ला समन्वय समितिको सातौँ जिल्ला सभामा विशेष अतिथि बनेर आएका थिए । सोही मौकामा उनीविरुद्ध जिल्ला सभा चलिरहेको बेला प्रर्दशन भएको हो ।

पहिचान पक्षधरले नाराबाजी गर्दै कालोझण्डा देखाएका थिए । जिल्लामा रहेका किँरातहरुले जिल्ला समन्वय समितिको सभाहलमा नाराबाजी गर्दै प्रदर्शन गरेका हुन् । उनीहरुले प्रदेश नामकरणमा जातीय पहिचानलाई नसमेटिएसम्म प्रदेश सांसदलाई जिल्ला प्रवेश रोक लगाएको भन्दै प्रदर्शन गरेका हुन् ।

कोशी प्रदेश नामकरण षडयन्त्रपुर्वक गरिएको उनीहरुको भनाइ छ । सांसदहरु साक्षी बसेर कोशी प्रदेश नामरकणमा हस्ताक्षर गरेको र जनजातिको मनमा चोट पुर्याएको भन्दै आन्दोललाई विरोध भएको हो ।

प्रदर्शनमा उत्रिएका जातीय संघ संगठनले चर्को नाराबाजी गर्दै कोसी नाम फिर्ता लिन चेतवानी दिए । छापामार शैलीमा सभा हलमा प्रवेश गरेर प्रदर्शन गरेका उनीहरुलाई सुरक्षाकर्मीले नियन्त्रणमा लिएका थिए ।

नाराबाजी र कालोझण्डा देखाउन उत्रेका आन्दोलनकारी किरात राई यायोक्खाका अध्यक्ष, गुसन किरात सह कोषाध्यक्ष डार्विन चाम्लिङ यायोक्खाका दिक्तेल रुपाकोट मझुवागढी नगर कमीटी पुर्व उपाध्क्ष सप्तमणि राई जसपाका जिल्ला सचिव सुनिल राई रहेको छन् ।