धरान । कोशी प्रदेश नामकरणको विरोधमा भएको आन्दोलनमा मृत्यु भएका पदम लिम्बू (लाजेहाङ)को शव २५ दिनदेखि विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा राखिएको छ । गत चैत १० गते उपचारको क्रममा मृत्यु भएका उनको शव पार्टीले निर्णय नगरेका कारण अस्पतालमै रहेको हो ।
परिवार र दलले सहमति नदिएका कारण लिम्बूको पोष्टमार्टम पनि भएको छैन । पोष्टमार्टम नभएपछि सरकारद्वारा गठित छानबिन समितिले बाहिरी अध्याय गरेर मात्रै प्रतिवेदन बुझाएको थियो ।लिम्बूलाई सरकारले शहीद घोषणा गरेर परिवारलाई दश लाख राहत उपलब्ध गराउने निर्णय गरिसकेको छ । तर मुख्य माग प्रदेशको नाम संशोधनमा सरकार मौन बसेपछि पहिचान पक्षधरले उनको अन्तिम संस्कार रोकेका हुन् ।
संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च सुनसरीका अध्यक्ष अमर इजामकाअनुसार पार्टीको केन्द्रीय कमिटीको बैठक पछि अन्त्येष्टी गर्ने तयारी छ ।