धरान । धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङ्ले पत्रकारहरुलाई धम्की दिएको भन्दै पत्रकार महासंघ सुनसरीले आपत्ती जनाएको छ । महासंघ सुनसरीले एक विज्ञप्ती जारी गर्दै आफ्नो व्यवहार सच्याउनसमेत चेतावनी दिएको छ ।
गत विहीबार कार्यपालिका बैठक बस्न नसकेको विषयमा समाचार संकलन गर्न पुगेका पत्रकारलाई मेयर साम्पाङले पूर्वाग्रही ढंगले ‘तपाईं कुन पार्टीको पत्रकार’ भन्दै सोधेका थिए । यस्तो प्रश्न गरेर साम्पाङले पत्रकारलाई धम्की दिएको र प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामाथिको गम्भीर प्रहार गरेको सचिव ध्रुव ढकालद्वारा हस्ताक्षरित विज्ञप्तीमा जनाइएको छ । आफ्नो व्यवहार एवं कार्यशैली नसच्याए अप्रिय घटना घटेमा साम्पाङले नै जिम्मा लिनुपर्ने समेत चेतावनी दिइएको छ ।
‘मेयरजस्तो गरिमामय पदमा बसेको व्यक्तिले सञ्चारक्षेत्रप्रति संयम ढंगले जवाफ दिनुपर्नेमा सार्वजनिक रूपमा धम्क्याउन खोज्नु सञ्चारकर्मी असुरक्षित हुनसक्ने तथ्यप्रति महासंघ चिन्ता प्रकट गर्दछ,’ विज्ञप्तीमा भनिएको छ, ‘मेयर साम्पाङ्को व्यवहार एवम् कार्यशैलीले कुनै अप्रिय घटना घटेमा त्यसको जिम्मेवारी स्वयम् उहाँ (साम्पाङ्) ले लिनुपर्नेमा महासंघ जिल्ला शाखा प्रष्ट पार्न चाहन्छ ।’