जुकरबर्ग बने धेरै धन गुमाउने व्यक्ति

न्युजलय २० असार २०७९, सोमबार ०८:५६ मा प्रकाशित

काठमाडौं । फेसबुकका संस्थापक मार्क जुकरबर्गले सबैभन्दा धेरै सम्पत्ति गुमाएका छन् । ब्लूमबर्ग बिलियनेयर इन्डेक्सका अनुसार विश्वका धनी व्यक्ति जुकरबर्गले सबैभन्दा धेरै सम्पत्ति गुमाएका हुन् ।

 

जुकरबर्गको सम्पत्ति ६५.९ बिलियन डलरले घटेको छ । वर्षको अन्त्यमा १२६.४ बिलियन डलर रहेको उनको सम्पत्ति अहिले ५९.६ बिलियन डलरमा झरेको छ ।


विश्वभर मुद्रास्फीतिका कारण अर्थतन्त्र मन्दीको चपेटामा परेको छ । जसका कारण सेयर बजार निरन्तर ओरालो लागेको छ र यसबाट सर्वसाधारणका साथै विश्वका ठूला उद्योगीहरूले निकै मारमा परेका छन् ।


इन्डेक्सका अनुसार यस वर्षको पहिलो ६ महिनामा विश्वका सबैभन्दा धनी व्यक्तिसहित विश्वभरका पाँच सय धनी व्यक्तिले एक ट्रिलियन डलरभन्दा बढी गुमाएका छन्। 


जुकरबर्गपछि विश्वका ३ धनी व्यक्तिले यो वर्ष सबैभन्दा बढी नोक्सानी भोगेका छन् । तीनवटैको सम्पत्ति करिब १७० अर्ब डलरले घटेको छ । 


यस वर्षको सुरुमा विश्वका सबैभन्दा धनी व्यक्ति र टेस्लाका मालिक एलन मस्कको कुल सम्पत्ति २७० अर्ब डलर थियो, जुन अहिले घटेर २१० अर्बमा झरेको छ। 


यसपछि अमेजनका संस्थापक जेफ बेजोसको सम्पत्ति घटेको छ । वर्षको सुरुमा  बेजोसको सम्पत्ति करिब २१३ अर्ब डलर थियो, अहिले १२३ अर्ब डलरमा झरेको छ । 


फ्रान्सेली विलासी सामान कम्पनी एलएमवीएचका मालिक बर्नार्ड अर्नाल्टको सम्पत्ति २०२२ को सुरुदेखि ५०.४ बिलियन डलरले घटेको छ।