प्रदेश १ का ११ सहित देशका ३३ स्थानीय तह विपद् संकटग्रस्त क्षेत्र घोषित

न्युजलय २१ मङ्सिर २०७८, मङ्गलबार ०६:०७ मा प्रकाशित

काठमाडौं । सरकारले प्रदेश १ का ११ सहित मुलुकभरका ३३ स्थानीय तहलाई विपद् संकटग्रस्त क्षेत्र घोषणा गरेको छ । 

गृहमन्त्रालयले २०७८ साल माघ मसान्तसम्म लागू हुनेगरी ती तहहरुलाई विपद् संकटग्रस्त क्षेत्र घोषणा गर्ने निर्णय गरेको हो ।

मन्त्रालयका अनुसार प्रदेश एकका तीन जिल्लाका ११ स्थानीय तह उक्त सुचीमा समावेश गरिएका छन् । बाढी, पहिरोलगायतका विपद्‍बाट ठूलो मानवीय क्षती भएको र ती स्थानीय तह बढी प्रभावित भएकाले संकटग्रस्त क्षेत्र घोषणा गरिएको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जानकारी दिएको छ । 

ती स्थानीय तहमा पुगेको क्षतीको पुनःनिर्माण तथा पुनःस्थापनाको काम, घर तथा सडक तथा विद्यालय निर्माणको काम गरिने उनले बताए ।

प्रदेश १ मा इलामका ६ स्थानीय तह यो सुचीमा छन् । जसमा इलाम नगरपालिका, सूर्योदय नगरपालिका, फाकफोकथुम गाउँपालिका, माङसेबुङ गाउँपालिका, देउमाइ गाउँपालिका र सन्दकपुर गाउँपालिका रहेका छन् । पाँचथरका चार स्थानीय तहमा फिदिम नगरपालिका, मिक्लाजुङ गाउँपालिका, फाल्गुनन्द गाउँपालिका र तुम्वेवा गाउँपालिका रहेका छन् । यस्तै धनकुटाको एउटा स्थानीय तहमा चौबिसे गाउँपालिका रहेको छ ।