खोटाङमा आगलागी हुँदा २७ लाखभन्दा बढीको क्षति

न्युजलय २८ मङ्सिर २०७८, मङ्गलबार ०३:३३ मा प्रकाशित

खोटाङ । विद्युत सर्ट भएर घरमा आगलागी हुँदा खोटाङमा २७ लाखभन्दा बढीको क्षति भएको छ । 

रावाबेँसी गाउँपालिका–६ हौंचुरका ज्ञानेन्द्र खड्काको टिनको छाना भएको घरमा आगलागी हुँदा २७ लाख ९५ हजार बराबरको क्षति भएको हो ।

सोमबार राति भएको आगलागीमा खड्काको तीन तले घर, घरमा राखिएका नगद पाँच लाख, सात तोला सुन, चाँदी १७ तोला, १८ मुरी धान, १० मुरी मकैलगायत जलेको बताइएको छ । 

खड्काको लत्ताकपडा, भाडावर्तन लगायत महत्वपूर्ण कागजात पनि जलेको प्रहरीले जनाएको छ । प्रहरीचौकी हरम्टारबाट खटिएका प्रहरी र स्थानीयले आगो नियन्त्रणमा लिएका थिए । 

प्रहरीले मंगलबार स्थानीयको रोहवरमा आगलागीको सर्जमिन मुचुल्का उठाएको हो ।