इटहरी । नेपालमा सुरुङ युद्धको सुरुवात गर्ने सहिद रत्नकुमार बान्तवाको जीवनमा आधारित पुस्तक ‘नेपालमा सुरुङयुद्ध’को शनिबार विमोचन गरिएको छ ।
सङ्गीत साधना प्रतिष्ठानले आयोजना गरेको कार्यक्रममा कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्की, प्रदेश सांसद मिना श्रेष्ठ र टिप्पणीकारहरुले संयुक्त रुपमा विमोचन गरेका थिए ।
कार्यक्रममा बोल्दै मुख्यमन्त्री कार्कीले आफू पनि रत्नकुमारबाट प्रेरित भएको बताउँदै रत्नकुमारकै आदर्श र उनैले अगाडि सारेको ‘सुखी नेपाली, समृद्ध नेपाल’ बनाउने अभियानमा आफू क्रियाशिल रहेको बताए । उनले अहिले पनि वान्तवाको घरमा सुरुङ रहेको र त्यसलाई आफूहरुले संरक्षण गरेर राखेको बताए । उनले यो पुस्तकले नेपालमा सुरुङ युद्धको सुरुवात कसले गर्यो भन्ने कुरा स्पष्ट सन्देश दिएको र त्यो कुरा महत्वपूर्ण रहेको बताए ।
कार्यक्रममा डा. दिवाकर रेग्मी र डा. अस्मिता विष्टले पुस्तकमाथि टिप्पणी गरेका थिए ।
अर्जुन उप्रेती र जसकुमार राईले लेखेको पुस्तकमा सुरुङ कसरी सुरु गरियो र त्यसका योजनाकार वान्तवालाई युवा उमेरमै पञ्चायत प्रेरित सरकारले कसरी मार्यो भन्ने घटनाहरुको व्याख्या गरिएको छ । २७ वर्षको उमेरमै रत्नकुमारलाई तत्कालीन पञ्चायत सरकारले इभाङको जंगलमा गोली हानी हत्या गरेको थियो ।