विराटनगर । मोरङको कानेपोखरी गाउँपालिका–५ मा सोमबार(आज) बिहान मोटरसाइकल चालक नालीभित्र मृत फेला परेका छन् ।
इलाका प्रहरी कार्यालय पथरीका अनुसार कानेपोखरी–५ का ३० वर्षीय शिवचन्द्र यादवको शव नालीभित्र भेटिएको हो ।
यादवले चलाएको लु ३७ प ९९४२ नम्बरको मोटरसाइकल पनि नालीभित्रै लडिरहेको अवस्थामा फेला परेको हो । आफैं अनियन्त्रित भएर मोटरसाइकलसहित चालक नालीभित्र खसेको हुनसक्ने प्रहरीको अनुमान छ ।
यादव बिहान ६ बजेतिर मृत फेला परेपछि स्थानीयले प्रहरीलाई घटनाको जानकारी गराएका हुन् । डीएसपी भण्डारीका अनुसार उत्तरबाट पूर्व–दक्षिण जाँदै गरेको अवस्थामा मोटरसाइकल दुर्घटनामा परेको हुनसक्ने अनुमान गरिएको छ । टाउकोमा हेल्मेट नलगाएको अवस्थामा चालकको शव फेला परेको उनले बताए ।
प्रहरीका अनुसार शवलाई पोस्टमार्टमका लागि उर्लाबारीको मंगलबारेस्थित मदन भण्डारी अस्पताल एवं ट्रमा सेन्टर पठाएर घटनाको अनुसन्धान सुरु गरिएको छ ।