काठमाडौंमा चक्कु प्रहार गरि मोरङका धिमालको हत्या

न्युजलय ३० बैशाख २०८१, आइतबार ०१:४२ मा प्रकाशित

 काठमाडौँ । काठमाडौं महानगरपालिका–९ बत्तिसपुतलीस्थित कुमारी टोलमा गएराति एक जनाको हत्या गरेको अभियोगमा पक्राउ परेका चार नाबालक रहेको खुलेको छ ।

गएराति दुई समूहबीचमा भएको झगडामा परी मोरङ घर भएका २४ वर्षीय शम्भु धिमालको मृत्यु भएको र उक्त घटनामा संलग्न रहेको अभियोगमा पक्राउ परेका चारै जना नाबालक रहेको प्रारम्भिक अनुसन्धानबाट खुल्न आएको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ ।

झगडा हुँदा धिमालमाथि चक्कु प्रहार गरिएको र घटनालगत्तै सिनामङ्गलस्थित काठमाडौं मेडिकल कलेजमा उपचारका लागि लगिएकामा चिकित्सकले उनलाई मृत घोषणा गरेका थिए । राति बाटोमा हिँड्दै गर्दा धिमाल र पक्राउ परेका एक अर्कासँग ठोक्किँदा झगडा सुरु भएको प्रहरीले जनाएको छ ।

उक्त घटनामा परी मृतक धिमालका साथी २३ वर्षीय मनिष चौधरी पनि घाइते भएको बताइएको छ । मृतक धिमालको शव त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल महाराजगञ्जमा परीक्षणका लागि राखिएको प्रहरीले जनाएको छ ।