धनकुटाका १७ सहकारी खारेज

न्युजलय २१ भदौ २०८०, बिहिबार ०९:१४ मा प्रकाशित

धनकुटा । धनकुटा नगरपालिकाले १७ वटा सहकारी संस्थालाई खारेज गरिदिएको छ । नगरपालिकाको सहकारी ऐन २०७५ बमोजिम संस्थाले पुरा गर्नुपर्ने दायित्व बहन नगरी बचतकर्ताको रकम जोखिममा राखेको भन्दै कारवाही गरिएको प्रमुख प्रशासकीय अधिकृत मुक्तिनाथ सुवेदीले जानकारी दिएका छन् । 

अन्नपुर्ण वचत तथा ऋणसहकारी संस्था, क्रमिक दैनिक वचत तथा ऋणसहकारी संस्था, जनकल्याण वचत तथा ऋण सहकारी संस्था लगाएतका १७ सहकारी संस्थालाई खारेज गरिएको हो । 

नगरपालिकाका आर्थिक विकास अधिकृत विकास अधिकारीका अनुसार यि सहकारीहरुले विगत ४ वर्षदेखि साधारण सभासँगै लेखा परीक्षण नगरेको पाइएको हो भने संस्था संचालनको विवरणसमेत पालिकामा नबुझाइ बसेका थिए । खारेज गरिएका संस्थाले कुनै व्यक्ति वा संस्थालाई तिर्नुपर्ने दायित्व रहे संस्थाका संचालक समितिका पदाधिकारीसँग फरफार गरि लिन सकिनेछ ।