टिपरको ठक्करबाट साइकल यात्रीको मृत्यु भएपछि स्थानियले गरे सडकमै शव राखेर आन्दोलन

न्युजलय ५ पुस २०७८, सोमबार ०९:०५ मा प्रकाशित

विराटनगर । टिपर ब्याक गरेर किच्दा मोरङको रतुवामाई नगरपालिका–४ स्थित भित्री सडक खण्डमा आइतबार साँझ एक साइकल यात्रीको मृत्यु भएको छ। 

 

उत्तरतर्फ जाँदै गरेको को १ ख ५११० नम्बरको टिपरले ओभरटेक गर्ने क्रममा सोही दिशातर्फ जाँदै गरेको साइकललाई ठक्कर दिएको थियो। मोरङ ट्राफिक प्रमुख प्रहरी निरीक्षक चन्द्रबहादुर खड्काका अनुसार टिपरको ठक्करबाट साइकल यात्री रतुवामाई–४ का ५७ वर्षीय हरिराम गिरीको मृत्यु भएको छ। 


टिपरले साँझ ५ बजेतिर ठक्कर दिँदा गिरीको घटनास्थलमै मृत्यु भएको खड्काले बताए। गिरी रतुवामाईको झुर्कियाबाट कोरोनाविरुद्धको खोप लगाएर घर फर्कँदै गरेका बेला दुर्घटनामा परेका हुन्। स्थानीयका अनुसार टिपरले ठक्कर दिएपछि गिरी सडकमा लडेका थिए। त्यसलगत्तै ब्याक गरेर टिपरले किच्दा उनको घटनास्थलमै मृत्यु भएको रतुवामाई–४ का वडाध्यक्ष देवराज राजवंशीले बताए।


दुर्घटनापछि आक्रोशित बनेका स्थानीयले तोडफोड गरेर टिपरमा क्षति पुर्‍याइदिएका छन्। आक्रोशित भीडले कुटपिट गर्दा टिपर चालक रतुवामाई–९ का ४१ वर्षीय मिलन खड्का घाइते भएका छन्। आँखा, अनुहार लगायत शरीरका विभिन्न भागमा चोट लागेका खड्काको विराटनगरस्थित न्युरो अस्पतालमा उपचार भइरहेको छ।  


दुर्घटनापछि आक्रोशित बनेका स्थानीय, आफन्त र परिवारका सदस्यले सडकमै शव राखेर रातभर आन्दोलनमा उत्रिए। टिपरको लापरबाहीका कारण दुर्घटना भएको भन्दै घटनास्थलमै शव छाडेर आन्दोलनमा उत्रिएका स्थानीयले राति प्रदर्शन र नाराबाजी गरेका छन्। 


दुर्घटना गराउने चालकसँग सवारी चालक अनुमति पत्र (लाइसेन्स) पनि साथमा नभएको प्रहरीको भनाइ छ। प्रहरीका अनुसार साँघुरो सडकमा टिपरले साइकललाई ओभरटेक गर्न खोज्दा दुर्घटना भएको पाइएको छ। 


स्थिति साम्य भएपछि घटनास्थलबाट शव उठाउँदै पोस्टमार्टमका लागि लैजाने प्रयास भइरहे पनि स्थानीयले अवरोध गरिरहेका छन्।