विद्यालय बन्द गरेर शिक्षकहरु आन्दोलनमा गएपछि बराहक्षेत्रको वडा कार्यालयले गरायो सचेत

न्युजलय ३२ साउन २०८०, बिहिबार ०३:४३ मा प्रकाशित

सुनसरी । कक्षा छाडेर शिक्षकहरु आन्दोलनमा जान थालेपछि बराहक्षेत्रको १० नं। वडा कार्यालयले शिक्षकहरुलाई सचेत गराएको छ । विद्यालय बन्द गरी कार्यक्रममा गए शिक्षकहरुलाई कारवाही गर्ने चेतावनीसमेत दिएको छ । 


वडाध्यक्ष तेजबहादुर गुरुङले हस्ताक्षर गरेको ध्यानाकर्षण पत्रमा शिक्षकहरु दिनहुँजसो आन्दोलनमा जाँदा विद्यार्थीको पठनपाठनमा प्रभाव परेको चौतर्फी गुनासो आएको उल्लेख छ । उनले कक्षा नियमित सञ्चालन गर्न निर्देशन दिएका छन् ।


१० नम्बर वडामा एउटा माध्यमिक विद्यालय र पाँचओटा आधारभूत विद्यालयमा २ हजार विद्यार्थीहरु अध्ययनरत छन् । 


सार्वजनिक भएको विद्यालय शिक्षा ऐन २०८० को मस्यौदाले स्थायी, अस्थायी, करार, राहत, साविक उच्च मावि, बाल कक्षा, विशेष शिक्षा, शिक्षण सिकाइ अनुदान, प्राविधिक धार, संस्थागत विद्यालयका शिक्षकलगायत सबैखाले शिक्षक र विद्यालय कर्मचारीको माग सम्बोधन गर्नुपर्ने माग राखेर देशैभरका शिक्षक आन्दोलनरत छन् ।